अब सम्बन्ध विच्छेद गृह जिल्लाबाट मात्र


के तपाईको नागरिकता प्रमाणपत्र, विवाह दर्ता र अचल सम्पत्ति काठमाडौँ बाहिर तपाईंको पैत्रिक गृहजिल्लामा छ ? तपाई काठमाडौँ या विदेशतिर अस्थायी बसोबास गरिरहनुभएको छ ? यो स्थितिमा तपाई श्रीमान–श्रीमतीबीच भगडा भयो र काठमाडौँ जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गर्न लाग्नुभएको छ ? त्यस्तो योजनामा हुनुहुन्छ भने अब बाहिरी जिल्लाका स्थायी बासिन्दाले काठमाडौँ जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गर्न पाइँदैन ।
तपाईले श्रीमान–श्रीमतीबीचको सम्बन्ध बिच्छेदको मुद्दा दायर गर्ने भए आफ्नै गृहजिल्लामा जानुपर्ने हुन्छ । विगतमा काठमाडौँ जिल्ला अदालतबाटै अस्थायी बसोबास गरेको आधारमा सम्बन्ध विच्छेदको मुद्दा गर्न पाइन्थ्यो, तर अबदेखि आफ्नै स्थायी ठेगानाको गृह जिल्लामा जानुपर्छ ।
काठमाडौँ जिल्ला अदालतले गत साउन २५ गते छेत्राधिकार सम्बन्धी गरेको यो फैसलापछि अब बाहिरी जिल्ला वा विदेशमा बस्नेहरुका तर्फबाट काठमाडौँ जिल्ला अदालतमा दायर गरिएका सम्बन्ध विच्छेदका मुद्दाहरु धमाधम खारेज गर्ने बाटो खुलेको छ । अब ती मुद्दाहरु अन्य जिल्लामा सरुवा समेत हुँदैनन्, खारेज नै हुन्छन् ।
कतिपय कानून व्यवसायीले काठमाडौँ जिल्ला अदालतको यो निर्णयले ‘न्यायको पहुँच’ माथि प्रभाव पार्ने भन्दै आलोचनासमेत गरेका छन् । तर, सम्मानित अदालतले मुलुकी संहितामा रहेको कानूनी व्यवस्थाहरुमा टेकेर यो फैसला सुनाएकाले यस फैसलालाई मान्नैपर्ने देखिन्छ । यसलाई चुनौती दिने एउटै बाटो भनेको उच्च अदालतमा पुनरावेदन दिने बाहेक अर्को विकल्प देखिँदैन ।