सम्बन्ध विच्छेद, के महिलाले सम्बन्ध विच्छेदको लागि निवेदन गर्दा पुरुषले अंश दिनुपर्दैन??


कुनै पनि तवरबाट (उत्सब विबाह, प्रेम विवाह, दर्ता विवाह वा अदालतमा गरिएको विवाह) गरिएको विबाह गरी पति पत्नीको रुपमा एकसाथ संगै बसीरहेका वा मानो छुट्टिई भिन्दै बसेका वा अंशबण्डा गरी बसेका पति पत्नीको सम्बन्ध कानूनी रुपमा समाप्त गर्ने कार्यलाई सम्बन्ध विच्छेद भनिन्छ । कानूनी रुपमा सम्बन्ध विच्छेद हुने नाता सम्बन्ध श्रीमान श्रीमती बीचमा हो । अन्य सम्बन्धहरुको कानूनी रुपमा विच्छेद गर्ने प्राबधान छैन । सम्बन्ध विच्छेद सम्बन्धित जिल्ला अदालतबाट मात्र गर्न सकिन्छ । स्थानिय निकायबाट सम्बन्ध बिच्छेद हुदैन ।

सम्बन्ध बिच्छेद गर्न सक्ने अवस्थाहरु

पति पत्नी दुवैले चाहेमा दुबैको सल्लाह सहमतिले जहिलेसुकै पनि सम्बन्ध विच्छेद गर्न सक्नेछन् ।

पतिले सम्बन्ध विच्छेद गर्न सक्ने आधार

-पत्नीले पतिको मञ्जूरी नलिइ लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा

-पत्नीले पतिलाइ खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा

-पत्नीले पतिको अंगभगं हुने वा ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा

-पत्नीले अन्य पुरुष संग यौन सम्बन्ध राखेको ठहरेमा

पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने आधार

-पतिले पत्नीको मञ्जुरी नलिइ लगातार ३ वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा

-पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा

-पतिले पत्नीको अगंभंग हुने वा ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा

-पतिले अर्को विवाह गरेमा

– पतिले अन्य महिला संग यौन सम्बन्ध राखेको ठहरेमा

– पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा

-सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्दछ ।
-निवेदन परेमा अदालतले दुवै लाई सम्झाई बुझई मेलमिलाप गर्न नसकेमा निजहरुको सम्बन्ध विच्छेद गराई दिनु पर्ने व्यबस्था छ ।
-पतिको कारणले सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नी बीच अँशवण्डा गर्न लगाउनु पर्नेछ ।

हदम्याद


हदम्याद भनेको तपाईलाई उत्पन्न भएको कानूनी जटिलताको मुद्धा लिएर अदालत जानुपर्ने समयाबधि हो । यो हरेक मुद्धा या विषयमा फरक फरक हुने गर्दछ, जुन सम्बन्धित कानूनले तोकेको हुन्छ ।
-मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले ३ महिना भित्र नालिस गर्न सक्नेछ ।
सम्बन्ध विच्छेद गर्दा अंशहक के हुन्छः
-सम्बन्ध विच्छेद गर्नु अघि अंश वण्डा गर्नु पर्दछ । पतिको कारणबाट पति पत्नी बीच सम्बन्ध बिच्छेद गर्दा पत्नीले माग गरेमा अदालतले पति पत्नी बीचमा अंशबण्डा गर्न लगाईदिनु पर्छ ।

के महिलाले सम्बन्ध विच्छेदको लागि निवेदन गर्दा पुरुषले अंश दिनुपर्दैन?? सम्बन्ध विच्छेद गर्दा अंश तथा मानाचामल बापत खर्च दिनु नपर्ने अवस्थाः

-पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

-पत्नीले पतिको अंगभगं हुने वा ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा,

-पत्नीले अन्य पुरुष संग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्नीलाई सम्बन्ध बिच्छेद गर्दा अंश दिन वा खर्च भराउन बाध्य हुदैन । तर यस्तो कुरा अदालतमा प्रमाण पु¥याउनु पर्ने हुन्छ ।

-पति र पत्नी बीच सम्बन्ध विच्छेद गर्दा पत्नीले अंश नलिई एकमुष्ठ रुपमा रकम वा वार्षिक वा मासिक रकम वा खर्च लिन चाहेमा अदालतले पतिको सम्पत्ति र आम्दानीको आधारमा त्यस्ती पत्नीलाई वार्षिक वा मासिक रकम भराईदिन सक्छ ।

– पत्नीले अर्को विबाह गरेमा त्यस्तो रकम वा खर्च दिनु पर्दैन ।

-पतिको भन्दा पत्नीको आँम्दानी बढी भएमा त्यस्तो खर्च दिनु पर्दैन तर अंश लिन चाहेको अवस्थामा भने पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि अंशबण्डा गरेर मात्र सम्बन्ध विच्छेद हुन्छ ।

-पति पत्नी बीचमा आपसी सहमति भएको अवस्थामा भने पत्नीले पाउने अंश र खर्चको सम्बन्धमा दुबैको बीचमा कुनै लिखित वा मौखिक सहमति भएकोमा सो बमोजिम नै हुन्छ तर त्यस्तो सहमतिले अन्यको अंशहक मा भने असर पु¥याउनु हुदैन ।

सम्बन्ध विच्छेद पश्चात निजहरुका छोराछोरीको अवस्था के हुनेः

– पा“च वर्ष उमेर नपुगेको नाबालक भए आमाले अर्को विबाह नगरेको भए वा नभएपनि निजले जिम्मा लिन चाहेमा आमाको जिम्मामा रहने ।

-पा“च वर्षभन्दा माथिको नाबालक भएमा आमाले अर्को विबाह गरेकोमा बाहेक निजले लिन चाहेमा निजको जिम्मामा र अन्य अवस्थामा बाबुको जिम्मामा रहने ।

-पति पत्नी बीच सम्बन्ध विच्छेद हुदा वा भिन्न हुदा दुबैको सहमति भएकोमा सोही सहमति बमोजिम नाबालक आमा वा बाबु संग रहन सक्नेछ ।

-दश बर्ष उमेर पूरा गरेको नाबालक कसको जिम्मामा राख्ने भन्ने सम्बन्धमा विबाद भएमा सम्बन्धित नाबालकको राय लिएर सोही बमोजिम गर्नु पर्ने हुन्छ ।

नाबालको हेरचाह, पालनपोषण, शिक्षादीक्षा

 नाबालको आवश्यक हेरचाह र स्याहार सम्भार गर्ने कार्य नाबालक माता या पिता जसका जिम्मामा रहेको छ उसैले गर्नुपर्ने हुन्छ । नाबालक आमाको जिम्मामा बसेकोमा बाबुलाई र बाबुसंग बसेकोमा आमालाई नाबालक संग भेटघाट गर्न दिनु पर्दछ । आमा वा बाबु जो संग बसेको भएपनि र पालनपोषण, शिक्षादीक्षा, औषधोपचार लगाएतका जिम्मेवारी आमा बाबु दुबैको रहन्छ साथै नाबालकको सम्पत्ति सम्बन्धी हकको सुरक्षा पनि माता पिता दुबैले गर्नु पर्दछ ।

 



Comment Here !