जवरजस्ती करणी कसूरमा महिलालाई ६ वर्ष कैद र साठी हजारसम्म जरिवाना हुने कानूनी आधार


– शीतल पाण्डे

केही समय पहिले एउटा भिडियो सार्वजनिक भयो । जसमा १४ वर्षको बालकद्धारा नाता पर्ने महिलालाई गर्भवति बनाई बच्चा समेत जन्मिएको भनिएको छ । भिडियोमा प्रश्नकर्ताहरु ती १४ बर्षे बालकसँग ती काकी नाताकी महिला साँच्चै सम्बन्धमा थिईन् वा थिईनन् ? यदी १४ वर्षे बालक संग सम्बन्ध भएको रहेछ भने ती बालकको गल्ती हो र सो बच्चा स्वीकार गर्नु पर्छ भन्ने मान्यताका साथ प्रस्तुत भएको पाईयो । तर यो घटनामा १४ बर्षको बालक होइन, जवरजस्ती करणी सम्बन्धी कसूरमा महिला दोषि हुने कानूनी आधार देखिन्छ ।

कानूनतः बलात्कार वा करणी सम्बन्धी कसूर भन्दा वित्तिकै मुलूकी अपराध संहिताको परिच्छेद १८, करणी सम्बन्धी कसूरको दफा २१९ ले कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जूरी लिएर भए पनि अठार वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था गरेबाट महिला वा बालिका मात्र जवर्जस्ती करणीको अपराधका पीडित हुन्छन् भन्ने देखिन्छ । यस दफाको व्यवस्थाले कुनै पनि पुरुष लाई महिलाले जवर्जस्ती करणी गर्न सक्दैनन् भन्ने विधायिकाको मनसाय देखिन आउँछ ।

तर ऐ. दफा २२० को हाडनातामा करणी गर्न नहुने, (१) कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानी जानी त्यस्तो व्यक्ति संग करणी लिनु दिनु हुँदैन । दफा २२१ को थुनामा रहेको व्यक्तिसंग करणी गर्न नहुने, दफा २२२ को आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्ति संग करणी गर्न नहुने, दफा २२३ को कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसंग करणी गर्न नहुुने, दफा २२४ को यौन दुव्र्यवहार गर्न नहुने (१) कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुँदैन, दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुने (१) कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन, दफा २२६ को अप्राकृतिक मैथुन गर्न नहुने (१) कसैले कसैको मन्जुरी बिना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुँदैन, भन्ने व्यवस्थाबाट महिला मात्र नभई महिला बाहेकका अन्य व्यक्ति समेत यस्तो अपराधको पीडित बन्न सक्ने साथै कुनै पनि व्यक्तिले यस्तो फौजदारी कानूनले निषेध गरेको कार्य गर्ने वा गराउने अवस्थालाई मध्यनजर गरेर महिला बाहेक अन्य व्यक्तिलाई समेत विशेष संरक्षणमा राखेको ऐनको प्रावधानहरुवाट स्पष्ट हुन्छ ।

यी सम्पूर्ण प्रावधानले एक पुरुषबाट महिला, एक पुरुषबाट बालक र बालिका, एक पुरुषबाट अर्को पुरुष, एक व्यक्तिबाट अर्को व्यक्ति(समलिङ्गी) जवर्जस्ती करणी अर्थात मुलूकी फौजदारी संहितामा व्यवस्था ऐनले निषेध गरेको करणी सम्बन्धी कसूर हुने स्पष्ट पारेको छ ।

ऐनले मन्जुरी लिएर भएपनि १८ वर्ष भन्दा कम उमेरको बालिकाको एक उमेर पुगेको वयस्क व्यक्तिबाट ऐनले निषेध गरेको कार्य ”“करणी सम्बन्धी कसूर” हुन जान्छ । तर ऐनमा उमेर पुगेको महिलाबाट उमेर नपुगेको बालकसंगको शारीरिक सम्बन्धलाई स्पष्ट सब्दमा उल्लेख नगरेको भएता पनि प्रस्तुत मुलूकी फौजदारी संहिताकोे दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुने (१) कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन, (२) कसैले करणीका आशयले बालबालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसंग कुनै किसिमको यौनजन्य अस्वभाविक व्यबहार गरेमा बालयौन दुरुयोग गरेको मानिनेछ । (३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई उपदफा (२) को स्पष्टिकरण बमोजिमको कसूर गरेमा “तीन वर्ष सम्म कैद र तीस हजार रुपियाँसम्म जरिवाना हुनेछ” भन्ने व्यवस्थाले वयष्क महिलाबाट नाबालक जवरजस्ती करणीको पीडित बन्न सक्ने भन्ने बिधायिकी मनसाय देखिन्छ । तसर्थ ऐनले बालकलाई बिशेष संरक्षण एबं सुरक्षाभित्र राखेको पाईन्छ ।

त्यस्तै गरी ऐ. दफा २२२ को हाडनातामा करणी गर्न नहुने, (१) कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानी जानी त्यस्तो व्यक्ति संग करणी लिनु दिनु हुँदैन भन्ने व्यवस्थाबाट यदी कुनै बालक जवरजस्ती करणीको सिकार भएको र निजको हाडनाताको व्यक्तिबाट भएको रहेछ भने चाहे उमेर पुगेको पुरुष होस् या महिला निज पीडक कार्बाहीको दायरामा आउँछ ।

हालैको यो घटनामा १४ वर्षे बालक संग सम्बन्ध भएको रहेछ भने ती बालकको गल्ती भएको र बालकले सो बच्चा स्वीकार गर्नु पर्छ भन्ने मान्यता समेत देखिएको छ । वास्तवमा उक्त मान्यता कानूनी तवरबाट ठीक होईन किनकी कुरा त्यस्तो नभई दफा २२२ (२) खण्ड (घ) को व्यवस्थाले खण्ड (क),(ख),(ग) मा लेखिएदेखि बाहेकक आफ्नो वंशका सात पुस्ता सम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता समेत बिचार गरी “एक वर्ष देखि तीन वर्ष सम्म कैद र दशहजार रुपियाँ देखि तीस हजार रुपियाँ सम्म जरिवाना हुने” भन्ने व्यवस्थाले कानूनले निषेध गरेको कार्य निज बालकको ठहर्ने नभई निज काकी नाताकी महिलाको ठहर हुन्छ ।

यहाँ आम जनमानसमा ति १४ वर्षिय बालक कै गर्भ हो भने तिनी दोषी छन् भन्ने मान्यता रहेको पाईयो ।

तर कानूनी तौरबाट उक्त घटनाको दोषी ति बालक  नभई ति काकी नाताकी महिला हुने व्यवस्था छ । जसबाट ति महिलालाई हाडनाता करणी गरे गराएकोमा मुलूकी फौजदारी संहितको दफा २२० (२)(घ) को व्यवस्था बमोजिम अधिकतम ३ वर्ष कैद र तीस हजार रुपियाँ जरिवाना साथै बाल यौन दुरुपयोग गरेकोमा दफा २२५(३) को व्यवस्था बमोजिम थप अधिकतम ३ वर्षसम्म कैद र तीस हजार रुपियाँ जरिवाना गरी जम्मा अधिकतम “६ वर्ष सम्म कैद र अधिकतम साठी हजार रुपियाँ सम्म जरिवाना हुने ठहर्छ” ।

त्यस्तै गरी दफा २२८ बमोजिम “पीडितलाई कसूरदारबाट मनासिब क्षतिपूर्ति भराईदिनु पर्दछ” । यि र यस्ता कानूनी व्यवस्थाले महिला र बालिका मात्र नभई बालक तथा अन्य व्यक्ति पनि यौन अपराधको सिकार बन्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरेर कानूनी संरक्षण दिईएको पाईन्छ । यसर्थ यौन हिंसाको सिकार महिला र बालिका मात्र नभई अन्य व्यक्ति, बालकहरु समेत पर्न सक्छन् र यस्तो अपराध तथा हिंसामा संलग्न महिलाले पनि कानूनी सजाँयको भागिदार बन्नु पर्दछ । किनकी कानूनको नजरमा सबै समान हुन्छन् ।

(पाण्डे कानुन व्यवसायी हुन् ।)



Comment Here !